४५ देशका शेफ नेपालमा, दमकमा दोस्रो कुलिनरी च्यालेन्ज 2026हुँदै

रमिला योञ्जन 

दमक, झापा — नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको आयोजनामा “Second National Culinary Challenge Competition 2026” आयोजना हुने भएको छ। आयोजकका अनुसार प्रतियोगिता आउँदो मे १५–१६ (जेठ १–२) गते पाथिभरा कुलिनरी आर्ट कलेज मा दुई दिनसम्म सञ्चालन हुनेछ।

कार्यक्रमअन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना गरिनेछ। प्रतियोगिताको मुख्य उद्देश्य कोशी प्रदेशसहित समग्र नेपालका रैथाने तथा लोपोन्मुख परिकारहरूको संरक्षण र प्रवर्द्धन गर्नुका साथै नेपाली कला, संस्कृति र ग्यास्ट्रोनोमीको जगेर्ना गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा देश तथा विदेशमा कार्यरत नेपाली शेफहरू, पाककला विद्यार्थी, होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा पाककला क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। विशेषगरी अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीमार्फत ४५ देशबाट शेफहरूको सहभागिता रहने जनाइएको छ।

यसैगरी, कार्यक्रममा ५० भन्दा बढी फुड स्टलहरू रहनेछन्, जहाँ विभिन्न रैथाने तथा परम्परागत नेपाली परिकारहरू प्रस्तुत गरिनेछन्। आयोजकका अनुसार यसले नेपाली खानाको प्रवर्द्धन, पाककला पर्यटनको विकास तथा नेपाली ग्यास्ट्रोनोमीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतियोगितामा नेपालभरिबाट सहभागी हुन सकिने जनाउँदै आयोजकले यस ऐतिहासिक कार्यक्रमको समाचार प्रकाशन तथा प्रसारणका लागि सम्पूर्ण सञ्चार माध्यमहरूलाई सहयोगका लागि आग्रह गरेको छ।

प्रतिक्रिया