मड्रिड — स्पेन सरकारले इरानसँगको युद्धमा संलग्न संयुक्त राज्य अमेरिकाका सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिने निर्णय गरेको छ।
सोमबार मड्रिडमा आयोजित पत्रकार सम्मेलनमा स्पेनी रक्षा मन्त्री मार्गारीटा रोबल्सले सरकारको यो नीतिबारे जानकारी दिँदै स्पष्ट पारिन् कि स्पेन कुनै पनि सैन्य कारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुन चाहँदैन। उनका अनुसार स्पेनले न त आफ्नो सैन्य अड्डा प्रयोग गर्न अनुमति दिनेछ, न त हवाई मार्ग नै उपलब्ध गराउनेछ।
यसअघि पनि स्पेनले संयुक्त रूपमा सञ्चालन भइरहेका अमेरिकी–स्पेनी सैन्य अड्डाहरू प्रयोग गर्न अस्वीकार गरिसकेको थियो। स्पेनी पत्रिका El Paísले सैन्य स्रोतलाई उद्धृत गर्दै यो निर्णय पहिलो पटक सार्वजनिक गरेको हो।
खबरअनुसार हवाई क्षेत्र बन्द गरिएपछि अमेरिकी सैन्य विमानहरूले पश्चिम एसियातर्फ उडान गर्दा वैकल्पिक मार्ग अपनाउनुपर्नेछ, जसले सैन्य अभियानलाई थप जटिल बनाउन सक्ने अनुमान गरिएको छ। यद्यपि आपतकालीन अवस्थामा भने केही छुट दिइन सक्ने जनाइएको छ।
स्पेनका अर्थमन्त्री कार्लोस कुएर्पोले यो निर्णयलाई अन्तर्राष्ट्रिय कानुनविपरीत सुरु गरिएको एकतर्फी युद्धमा सहभागी नहुने सरकारी नीतिको हिस्सा भएको बताएका छन्।
यसैबीच, स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणलाई गैरकानुनी र गैरजिम्मेवार कदम भन्दै आलोचना गर्दै आएका छन्।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनको निर्णयप्रति असन्तुष्टि जनाउँदै सम्भावित रूपमा व्यापारिक सम्बन्ध पुनरावलोकन गर्ने चेतावनी दिएका छन्।