बौद्ध तामाङ कल्याण गुठीको अध्यक्षमा राजेन्द्रकुमार लामा निर्वाचित

काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीको नेतृत्वमा राजेन्द्रकुमार लामा अत्यधिक बहुमतका साथ अध्यक्षमा निर्वाचित भएका छन्। गुठीको हालै सम्पन्न ७औं अधिवेशन तथा २०औं साधारणसभा र सम्मान कार्यक्रममा अधिवक्ता विक्रम राई, टासी कुमार लामा र सम्पूर्ण कुमार लामाको संयोजनमा गठन गरिएको निर्वाचन समितिले मतगणना सम्पन्न गरेको थियो।

अध्यक्ष पदमा भएको प्रतिस्पर्धामा राजेन्द्रकुमार लामाले २१९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् भने उनका प्रतिस्पर्धी जयमंगल लामाले ६१ मत प्राप्त गरेका थिए। अन्य पदहरूमा भने उम्मेदवारहरू सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन्।

उन्नाइस सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष मनोजकुमार लामा, उपाध्यक्ष सोनम लामा, नुर्बु लामा र सृजन लामा, सचिव धरम् लामा, सहसचिव गंगा लामा र कोषाध्यक्ष बलविर लामा लगायत दश सदस्य निर्वाचित भएका छन्।

कार्यक्रमको प्रमुख अतिथि छिरिङ दोर्जे लामा, विशिष्ट अतिथि काठमाडौं महानगरपालिका–६ का वडा अध्यक्ष भुवन लामा तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी र स्थानीय व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

उद्घाटन समारोहका क्रममा ज्येष्ठ नागरिक कृष्णबहादुर लामालाई सम्मान गरिएको थियो भने शिक्षण क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरूलाई नगदसहित अभिनन्दनपत्र प्रदान गरिएको थियो।

यस अवसरमा अतिथिहरूले गुठीको सामाजिक एकता, सांस्कृतिक संरक्षण र तामाङ समुदायको उत्थानमा योगदानको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया