चित्राङ्गन घरेलु मेलाले महिलालाई आत्मनिर्भर बनायो : डा. लाभ

अर्चना झा (रासस)

ललितपुर, २६ पुष : कर्ण कायस्थ महिला समाजद्वारा आयोजित चित्राङ्गन घरेलु मेला तथा सदस्यता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभले मेलाको उद्घाटन गर्दै महिला उद्यमीहरूका लागि यस्तो मेला सिप, दक्षता प्रदर्शन र रोजगारी सिर्जनाको उत्कृष्ट अवसर भएको बताउनुभयो।


उहाँले भन्नुभयो, “यस किसिमको चित्राङ्गन घरेलु मेलाबाट महिलाहरूले आफ्ना सिप–कौशल सार्वजनिक रूपमा प्रस्तुत गर्न पाएका छन्, जसले आत्मनिर्भर बन्न ठूलो टेवा पुर्‍याउँछ।” कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरू सीता माताको जन्मभूमिबाट हुर्किएको नागरिक भएको उल्लेख गर्दै उहाँहरूमा सीतामाताकै जस्तो आचरण, व्यवहार, धैर्यता र सिप रहेको तुलना गर्नुभयो।


डा. लाभले तराईका महिलाहरू तराईमै सीमित नरही केन्द्रमा आएर आफ्नो क्षमता उजागर गर्नु सबैका लागि गर्वको विषय भएको बताउनुभयो। “देश–विदेश रोजगारीको खोजीमा जानु भन्दा आफ्नै देशमा व्यवसाय गरेर आत्मनिर्भर बन्नु कुनै पनि महिलाका लागि ठूलो उपलब्धि र गौरवको कुरा हो,” उहाँको भनाइ थियो। सो अवसरमा उहाँले संस्थाका सदस्यहरूलाई सम्मान गर्दै सबैलाई धन्यवाद तथा बधाई व्यक्त गर्नुभयो।

कार्यक्रमका सभाध्यक्ष डा. पुनम कर्णले संस्थालाई अझ सशक्त बनाउँदै अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले कर्ण कायस्थ महिला समाजले महिला दिदीबहिनीहरूको दुःख–सुखमा सधैँ साथ दिने र स्वदेशी उत्पादन प्रवर्द्धनमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चित्राङ्गन घरेलु मेलामा नेपाल टेलिकमद्वारा निःशुल्क सिम कार्ड वितरण गरिएको थियो। साथै, मेलामा तराईका घरेलु उत्पादनका परिकारहरूका स्टल राखिनुका साथै मिथिला पेन्टिङबाट बनेका सामग्री बिक्रीका लागि छुट्टाछुट्टै स्टलहरू सञ्चालन गरिएको थियो।

मेलामा सहभागी रुबिना कर्णले हातबाट बनाइएका तराईमा पाइने खजुरिया, पेरुकिया, तिलको लड्डु, अचार, चरौरी, अदौरीलगायत सामग्रीबाट अपेक्षा गरेको भन्दा राम्रो आम्दानी भएको बताउनुभयो।


कार्यक्रममा महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको उल्लेख गर्दै संस्थाकी सदस्य निभा कर्णले आगामी दिनमा यस्ता मेलाहरूलाई अझ प्रभावकारी बनाउन व्यापक प्रचार–प्रसारको आवश्यकता रहेको जानकारी गराउनुभयो।

प्रतिक्रिया