तेक्वान्दो प्रवर्द्धनमा ललितपुर खुल्ला पुम्से प्रतियोगिता सम्पन्न

ललितपुर । पाँचौँ ललितपुर खुल्ला तेक्वान्दो पुम्से प्रतियोगिता २०८२ साल मंसिर १९ गते उज्ज्वल दरबार ब्यान्क्युट, हरिसिद्धि, ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता माननीय पूर्व स्वास्थ्य मन्त्री डा. तोसिमा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रतियोगितामा खेलकुद, सामाजिक, राजनीतिक तथा कलाकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै विभिन्न विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको बाक्लो सहभागिता देखिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. कार्कीले खेलकुदले शारीरिक स्वास्थ्यसँगै मानसिक अनुशासन, आत्मसंयम र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तेक्वान्दो जस्तो मार्शल आर्ट खेलले बालबालिका तथा युवालाई सकारात्मक दिशातर्फ डोर्‍याउने भएकाले राज्यले यस्ता खेलको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमका अन्य वक्ताहरूले तेक्वान्दो खेल आत्मरक्षा, अनुशासन र संस्कार विकासको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनीहरूले यस्ता प्रतियोगिताले भविष्यका प्रतिभावान खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

प्रतियोगितामा नव बिहानी तेक्वान्दो डोजाङले १०८० अङ्कसहित प्रथम स्थान हासिल गरेको छ। त्यस्तै दिक्षान्त पाठशालाले ९७० अङ्कसहित दोस्रो स्थान, सूर्योदय तेक्वान्दो डोजाङले ६३० अङ्कसहित तेस्रो स्थान तथा पिस पोइन्ट डोजाङले ४९० अङ्कसहित चौथो स्थान प्राप्त गरेका छन्।

कार्यक्रम सञ्चालन आईते तमाङले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व ललितपुर तेक्वान्दो कार्य समितिका अध्यक्ष विमल अछामीले गर्नुभएको थियो। सभापति अछामीले ललितपुरमा तेक्वान्दो खेलको दायरा विस्तार हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित र स्तरीय प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विजेता तथा सहभागी खेलाडीहरूलाई प्रमुख अतिथि र सभापतिबाट मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकका अनुसार प्रतियोगिताले खेलाडीहरूमा प्रतिस्पर्धी भावना, आत्मविश्वास र खेल भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ।


प्रतिक्रिया