प्युटारमा वडा अध्यक्ष कप फुटबल सम्पन्न

ललितपुर। बागमती गाउँपालिका वडा नम्बर–४, प्युटारस्थित खयरघारी क्षेत्रीय खेल मैदानमा तेस्रो वडा अध्यक्ष कप अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। २८६२ औँ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको प्रतियोगिता माघ २ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन भएको थियो।


स्थानीय स्तरमा खेलकुदको विकास, बालबालिका तथा युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बागमती गाउँपालिकाका ७ वडामध्ये ६ वडाका १२ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताले वडाभित्र खेलकुदको वातावरण सिर्जना गर्नुका साथै युवाहरूको प्रतिभालाई सम्मान, हौसला र आपसी सद्भाव बढाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।


U–14 उमेर समूह अन्तर्गत सञ्चालन भएको प्रतियोगितामा प्युटार P, प्युटार Y, प्युटार U, प्युटार T, माल्टा FC, घुसेल FC, इकुडोल FC र गिम्दी FC आश्राङ सहभागी थिए।

फाइनल खेलमा प्युटार फुटबल टिम U ले प्रथम स्थान हासिल गर्दै रु. ५५,०००/- नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। घुसेल फुटबल टिम FC दोस्रो हुँदै रु. ३०,०००/- तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। तृतीय स्थान माल्टा फुटबल टिम FC ले हात पार्दै रु. १५,०००/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

व्यक्तिगत विधातर्फ कृष्ण घलान उत्कृष्ट स्ट्राइकर र दिपेन्द्र संजेल उत्कृष्ट गोलकिपर घोषित हुँदै जनही रु. ५,०००/- पुरस्कार प्राप्त गरे। अनुशासित टिमको उपाधि घुसेल फुटबल टिम FC ले प्राप्त गर्दै रु. ५,०००/- नगद पुरस्कार हात पार्‍यो।


कार्यक्रम बागमती प्रदेशका पूर्व खेलकुद मन्त्री माननीय मिनकृष्ण महर्जन को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उहाँले बागमती गाउँपालिका खेलकुद सम्भावनाले भरिपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यहाँबाट राष्ट्रिय खेलाडी उत्पादन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

विशेष अतिथि जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल ले थोरै बजेटमै पनि वडा स्तरबाट खेलाडीको मनोबल बढाउने उल्लेखनीय कार्य भएको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष रामकुमार लामा ले गर्नुभएको थियो। उहाँले P, Y, U, T, A, R गरी ६ टिमका ९६ जना खेलाडीलाई खेलकुद पोसाक (युनिफर्म) वितरण गर्नुभयो। साथै, U–13 उमेर समूहका खेलाडीहरूलाई जनही रु. ३,०००/- नगद पुरस्कार प्रदान गर्दै यस्ता कार्यक्रम निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चान, जिल्ला समन्वय समिति सदस्य दिनेश घोरासाइँने, वडा नम्बर–२ माल्टाका वडा अध्यक्ष रामबहादुर ब्लोन, वडा नम्बर–३ भट्टेडाँडाका वडा अध्यक्ष नमराज खड्का लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक दिपक लामा ले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गर्दै यसले भविष्यमा उत्कृष्ट खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।



प्रतिक्रिया