निर्वाचनअघि प्रहरी उच्च तहको व्यापक सरुवा तयारी

रमिला योञ्जन 

काठमाडौं । निर्वाचन घोषणा भएसँगै प्रहरी प्रधान कार्यालयले जिल्लास्तरका प्रहरी प्रमुखहरूको सरुवा तयारी तीव्र पारेको छ । सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरिसकेको र आचारसंहिता लागु हुनुअघि सरुवा टुंग्याउने तयारीस्वरूप एसएसपी, एसपी र डीएसपी तहका अधिकृतहरूको सूची तयार भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आचारसंहिता लागु हुनु अघि नै सरुवा प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आइजीपी दानबहादुर कार्कीले हाल जिल्लामा कार्यरत डीएसपी, एसपी र एसएसपीहरूको ९ देखि १२ महिनाको कार्यसम्पादन मूल्यांकनका आधारमा सरुवा तयारी गरिरहेका छन् । केही दिनभित्र धनगढीमा हुने क्षेत्रीय सुरक्षा गोष्ठीबाट फर्किएपछि सरुवाको निर्णय सार्वजनिक हुने स्रोतको दाबी छ ।

सरुवाका लागि मानवस्रोत विभागका एआइजी राजन अधिकारीले सूची तयार गरिसकेको र आइजीपी कार्कीसमक्ष पेश गर्न मात्र बाँकी रहेको जनाइएको छ ।

यसअघि तीन महिनाअघि तत्कालीन आइजीपी चन्द्रकुवेर खापुङको कार्यकालमा ९० जना डीएसपीको सरुवा भएको थियो । इटहरी, बौद्ध, पर्वत, मुगु, स्वयम्भू, डडेलधुरा, भृकुटीमण्डप, गौशाला, दरबारमार्ग, प्युठानलगायत स्थानमा डीएसपीहरूको सरुवा गरिएको थियो । तर, असोज १ गते सरुवा भएका कतिपय डीएसपीहरूको कार्यसम्पादनप्रति प्रश्न उठेकाले उनीहरूको समेत पुनः सरुवा तयारी भइरहेको स्रोतले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख रमेश बस्नेतसहित १४ जना एसएसपीको सरुवा तयारी भइरहेको छ । उनी त्यहाँ कार्यरत भएको करिब एक वर्ष पुग्न लागेको छ । तर काठमाडौं, ललितपुर, भरतपुर तालिम केन्द्र तथा लागुऔषध नियन्त्रण व्यूरोमा कार्यरत एसएसपीहरूको भने तत्काल सरुवा नहुने बताइएको छ । विमानस्थल प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलाई भने हटाएर अर्को पठाउने तयारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयमा रहेका एक वर्ष पुगिसकेका वा पुग्न लागेका एसपीहरूको पनि सरुवाका लागि सूची तयार भइरहेको छ । बाँके, बर्दिया, रुपन्देही, सिराहा, महोत्तरीलगायत तराईका जिल्लामा कमाण्ड परिवर्तन गर्ने गरी तयारी थालिएको छ । पर्सा, बारा, धनुषा र कास्कीमा भने हालै सरुवा भएकाले परिवर्तन नहुने जनाइएको छ ।

यसैबीच आइजीपी सचिवालय, उजुरी छानबिन शाखा, कार्यविभाग, मानवस्रोत विभाग, मकवानपुर गण, गृह मन्त्रालय, साइबर ब्यूरो लगायतका स्थानमा कार्यरत एसपीहरूको पनि सरुवा हुने चर्चा छ । दुई जना डिआइजीको समेत सरुवा तयारी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।


 

प्रतिक्रिया