ललितपुर/रामनवमीको पावन अवसर पारेर ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीमा वसन्त नवरात्रि–रामनवमी भक्ति अनुष्ठान २०८२ सुरु भएको छ। श्री १०८ श्रीमद्भागवत स्वर्णकल्याण सेवा परिषद्को आयोजनामा बिहीबारदेखि सुरु भएको उक्त धार्मिक कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरेका हुन्।
बिहीबारबाट प्रारम्भ भएको अनुष्ठान यही चैत्र १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ। उद्घाटनसँगै सयौँ भक्तजन तथा खैजडी भजन टोलीको सहभागितामा भव्य कलशयात्रा निकालिएको थियो, जसले सम्पूर्ण क्षेत्रलाई भक्तिमय बनाएको थियो।
आध्यात्मिक चिन्तनमार्फत राष्ट्रशान्ति, लोककल्याण, समस्त जीवात्माको सुख–शान्ति तथा ज्ञात–अज्ञात आत्माहरूको मोक्ष प्राप्तिको उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। साथै, “बनौँ श्रवणकुमार” अभियानअन्तर्गत ज्येष्ठ नागरिकका लागि तीर्थयात्राको पवित्र उद्देश्यसमेत राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा आचार्य श्री गोविन्दशरण दाहालबाट दैनिक रूपमा श्रीमद्भागवत कथा वाचन भइरहेको छ।
परिषद्का अध्यक्ष तथा देशव्यापी १०८ श्रीमद्भागवत सङ्कल्प अभियानकर्ता मुमुक्षु उद्धव शर्माका अनुसार आध्यात्मिक जागरण अभियानस्वरूप आयोजना गरिएको यस अनुष्ठानपछि उक्त स्थानमा ज्येष्ठ नागरिकका लागि पवित्र धाम निर्माण गर्ने योजना अघि बढाइनेछ। झरुवारासीस्थित आश्रममा सात सप्तालय सञ्चालन गर्ने परिकल्पनासमेत गरिएको उनले जानकारी दिए।
उद्घाटन कार्यक्रममा नगरप्रमुख महर्जन, वडा नं. १३ का वडाध्यक्ष भास्कर थापा, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
अनुष्ठानको समापनसँगै आगामी चैत्र १२ गते झरुवारासी–चापागाउँ क्षेत्रका ऐतिहासिक मठ–मन्दिरहरूमा भगवान राम–सीताको रथयात्रा आयोजना गरिने कार्यक्रम रहेको छ।