मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको भव्य स्वागत तथा सम्मान समारोह सम्पन्न

रमिला योञ्जन 

काठमाडौं। काठमाडौँ–चुच्चेपाटी, चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा नवप्रवेशी विद्यार्थीहरूको स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीहरूको सम्मानार्थ राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको कमलादीस्थित हलमा सम्पन्न भएको हो।

कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशेष अतिथिहरूमा चर्चित नायिका प्रियंका कार्की, हास्य कलाकार बुद्धि तामाङ, शैक्षिक अभियन्ता अभिषेक घिमिरे, सञ्चारकर्मी विश्व लिम्बु, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा तथा समाजसेवी अनन्त प्रसाद भेटवाल लगायत रहेका थिए।

करिब ३०० भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधि, कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठ, कार्यकारी निर्देशक कुमार मोक्तान, बोर्ड अफ डाइरेक्टर, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ग्राण्ड फिनाले समेत सम्पन्न

कार्यक्रमकै अवसरमा कलेजले हरेक वर्ष आयोजना गर्ने तीन प्रमुख प्रतियोगिताहरू—‘मनास्लु आइडल’, ‘मनास्लु डान्सिङ स्टार’ र ‘मिस्टर एन्ड मिस मनास्लु २०८२’ को ग्राण्ड फिनाले सम्पन्न गरिएको थियो। साथै ‘भोइस अफ मनास्लु’ म्यागेजिनको विमोचन पनि गरिएको थियो।

पाँच विशिष्ट व्यक्तित्व सम्मानित

आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो। बुद्धि तामाङलाई ‘मनास्लु कलाकर्मी सम्मान २०८२’, विश्व लिम्बुलाई ‘मनास्लु सञ्चारकर्मी सम्मान २०८२’, एन्जिला तुम्बाप्पो सुब्बालाई ‘मनास्लु खेलाडी सम्मान २०८२’, अभिषेक घिमिरेलाई ‘मनास्लु शिक्षासेवी सम्मान २०८२’ तथा अनन्त प्रसाद भेटवाललाई ‘मनास्लु समाजसेवी सम्मान २०८२’ प्रदान गरिएको थियो।

प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठलाई ‘मनास्लु राष्ट्रिय गौरव सम्मान २०८२’ बाट विशेष सम्मान गरिएको थियो। उनको जीवन यात्रामा आधारित नृत्य प्रस्तुति मञ्चन हुँदा हल भावुक बनेको थियो। सम्मान ग्रहणपछि सम्बोधन गर्दै श्रेष्ठले नेपाली समाजबाट पाएको मायाले आफू सधैं अभिभूत हुने बताए। भगवानको आशीर्वाद र हरिवंश आचार्यको साथले यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले आफ्नो सम्मानमा हरिवंशको आधा भाग रहेको बताए। उनले आफ्नो चर्चित गीत ‘फुल बुट्टे सारी’ समेत गाएर सुनाएका थिए।

शिक्षा सीपमुखी हुनुपर्ने

क्याम्पस प्रमुख राजन श्रेष्ठले कार्यक्रम विद्यार्थीको क्षमता प्रदर्शन तथा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वबाट प्रेरणा लिने अवसरका रूपमा आयोजना गरिएको बताए। अबको शिक्षा प्रमाणपत्रमा सीमित नभई सीपमुखी हुनुपर्ने धारणा राख्दै मनास्लुले सोही दिशामा काम गरिरहेको उनले उल्लेख गरे।

विद्यार्थीका तर्फबाट कक्षा १२ कानुन संकायकी पूर्णिमा रामदान विकले स्वागत मन्तव्य दिँदै मनास्लु आधुनिक विश्वका चुनौती सामना गर्न सक्ने जनशक्ति उत्पादन गर्ने कलेज भएको बताइन्।

सांगीतिक प्रस्तुति र उत्साह

कार्यक्रमको सांगीतिक सत्रमा शान्ति श्री परियार र तृष्णा गुरुङ एण्ड कोल्याब ब्यान्डको प्रस्तुति रहेको थियो। विद्यार्थीका नृत्य तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई सन्देशमूलक र मनोरञ्जनात्मक बनाएको थियो।

समापन गर्दै अध्यक्ष गेन्द्र लामाले मनास्लुले राष्ट्रिय स्तरको मञ्चमा कार्यक्रम आयोजना गरी विद्यार्थीलाई अनुभव र आत्मविश्वास दिलाउने उद्देश्य पूरा गरेको बताए। भावी पुस्ताको नेतृत्व निर्माणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरे।

प्रतिक्रिया