टेन्ट, माइक र संवाद: दक्षिण ललितपुरमा सनोज महतको फरक राजनीतिक अभ्यास

रमिला योञ्जन 

ललितपुर । कुनै चम्किलो मञ्च छैन, न त ठूला ब्यानर र नाराहरू। सडकछेउ टेन्ट गाडिएको छ, केही कुर्सी राखिएका छन् र हातमा माइक बोकेर एक व्यक्ति जनतामाझ उभिएका छन्। यो कुनै औपचारिक चुनावी सभा होइन, यो हो—घरदैलो राजनीति। धरानका मेयर हर्क साङपाङले सुरु गरेको जनमुखी राजनीतिक शैली अहिले दक्षिण ललितपुरमा पनि देखिन थालेको छ। यसका अगुवा बनेका छन्—समाजसेवी सनोज महत।

धरानमा हर्क साङपाङले एक्लै टेम्पो चढेर, आफ्नै आवाजमा आफ्ना एजेन्डा राख्दै चुनाव जिते। त्यही ‘एक्लो तर जनमुखी’ राजनीतिबाट प्रभावित देखिन्छन् गोदावरी नगरपालिकाका सनोज महत। उनी पनि ठूला सभा र पार्टी संरचनाभन्दा बाहिर निस्किएर जनताको घरदैलोमा पुगेका छन्।

महत हाल दक्षिण ललितपुर केन्द्रित अभियानमा छन्। उनी बस्ती पस्छन्, स्थानीयसँग संवाद गर्छन्, गुनासो सुन्छन् र सार्वजनिक स्थानमै आफ्ना विचार राख्छन्। बुधबार र बिहीबार गोदावरी नगरपालिका वडा नं. १, गोदामचौरमा उनी देखिए। वडा कार्यालय नजिकैको सार्वजनिक जग्गामा टेन्ट गाडेर बसेका महतले माइकमार्फत स्थानीयसँग प्रत्यक्ष अन्तरक्रिया गरे।

उनको योजना अझ फराकिलो छ। ललितपुर क्षेत्र नं. १ अन्तर्गत पर्ने चार पालिकाका ३० वटै वडामा पुग्ने तयारीमा रहेका उनी प्रत्येक वडामा २४ घण्टा बस्ने बताउँछन्।

“वडाको सार्वजनिक जग्गामा टेन्ट हालेर रात पनि त्यहीँ बिताउँछु,” उनी भन्छन्, “जनताले भोगिरहेको समस्या प्रत्यक्ष देख्न र बुझ्न चाहन्छु।”

महतको अभियानको प्रमुख केन्द्रविन्दु बनेको छ—सामुदायिक विद्यालयमा देखिएको अव्यवस्था र अनियमितता। पिपुल्स फस्ट पार्टीको नाममा भइरहेको यस अभियानमार्फत उनले विद्यालयको व्यवस्थापन, पारदर्शिता र गुणस्तरमाथि प्रश्न उठाएका छन्।

“जनताको नाममा बजेट आउँछ, तर परिणाम कहाँ छ ?” उनी प्रश्न गर्छन्।

अनियमितता देखिए सूचनाको हक प्रयोग गरी कागजात सार्वजनिक गर्ने चेतावनी पनि उनले दिएका छन्। “यो राजनीति होइन, जनताको अधिकारको कुरा हो,” उनी भन्छन्।

आगामी फागुन २१ गते सङ्घीय निर्वाचन घोषणा भइसकेको सन्दर्भमा महतको सक्रियतालाई चुनावी तयारीका रूपमा हेर्नेहरू पनि छन्। तर महत भने यसलाई अस्वीकार गर्छन्।

“निर्वाचन होला न होला, त्यो मेरो प्राथमिकता होइन,” उनी भन्छन्, “म जनतासँग प्रत्यक्ष संवाद गर्न चाहन्छु।”

उनका अनुसार उनी ३० दिनसम्म जनतासँगै बसेर उनीहरूका दुःख–सुख बुझ्ने अभियानमा छन्। “लामो समय जनताका लागि राजनीति गरेँ,” उनी भन्छन्, “अब जनतासँग भिज्न निस्केको हुँ।”

 नगरपालिका वडा नं. ५, लेलेका स्थायी बासिन्दा महतको राजनीतिक यात्रा उतार–चढावपूर्ण छ। २०५८ सालमा पाटन कलेजमा अध्ययनरत रहँदा उनी तत्कालीन नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीमा आबद्ध थिए। ‘आतंककारी गतिविधिमा संलग्न’ आरोपमा पक्राउ परेका उनी २०६० सालमा अदालतबाट सफाइ पाए। जेल जीवनकै क्रममा उनले आइए उत्तीर्ण गरे।

२०६३ सालपछि माओवादी खुला राजनीतिमा आएपछि उनी पुनः सक्रिय भए। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा ललितपुर जिल्ला प्रमुखसमेत बने। तर २०६८ सालपछि उनले पार्टी परित्याग गरे।

अहिले उनी आफूलाई कुनै दलसँग नजोडिएको स्वतन्त्र नागरिकको रूपमा प्रस्तुत गर्छन्।

“म कुनै राजनीतिक दर्शन बोकेर हिँडेको छैन,” उनी भन्छन्, “म प्रणालीलाई प्रश्न गर्ने नागरिक हुँ।”

धरानमा हर्क साङपाङले देखाएको शैली संयोग मात्र होइन, सम्भावनाको संकेत पनि हो। त्यही सम्भावनाको छायाँमा ललितपुरका सनोज महत अघि बढिरहेका छन्।

यसले दक्षिण ललितपुरमा कस्तो प्रभाव पार्छ ? यसको उत्तर अब जनताले नै दिनेछन्।

यसै क्रममा महतले पुस ६ गते आइतबार ‘गफगाफ दक्षिण ललितपुर’ कार्यक्रम आयोजना गरी ललितपुरका क्रियाशील पत्रकारसँग साक्षात्कार तथा छलफलसमेत गरेका थिए।

प्रतिक्रिया