मेरो देश

 लिजा क्षेत्री

हर मानिसको जीवनमा उसको देश विशेष स्थान राख्दछ। देश भनेको केवल भूगोल मात्र होइन, यो हाम्रो पहिचान हो, हाम्रो संस्कार, हाम्रो इतिहास र हाम्रो भविष्य हो। मलाई गर्व लाग्छ भन्नलाई कि मेरो देश नेपाल हो। मेरो देश हिमाल, पहाड र तराईको सुन्दर संगम हो, जहाँ प्रकृतिको अनुपम सौन्दर्य र सांस्कृतिक विविधता एकसाथ पाइन्छ।

नेपाल एशियाको दक्षिणी भागमा अवस्थित एक सानो तर अत्यन्तै सुन्दर राष्ट्र हो। यसको उत्तरमा विश्वको सर्वोच्च हिमाल सगरमाथा छ, जुन केवल नेपालकै मात्र नभई सिङ्गो विश्वकै शान हो। दक्षिणतिर उब्जनीयुक्त समथर तराई क्षेत्रहरू छन्, जहाँ विभिन्न बालीहरू उत्पादन हुन्छन्। मध्य भागमा हरियालीले भरिएको पहाडी क्षेत्र छ, जहाँ नदी, झरना, बनजंगल र पहाडहरूको सुन्दर समिश्रण पाइन्छ।

नेपालको जलवायु पनि विविध छ – हिमाली क्षेत्रमा चिसो, पहाडमा समशीतोष्ण र तराईमा उष्ण जलवायु पाइन्छ। यस्तो विविध भूगोल र मौसमले गर्दा यहाँ कृषि, पर्यटन, जैविक विविधता र वनजंगलको प्रचुर सम्भावना छ।


नेपालको इतिहास गर्व गर्ने खालको छ। नेपाल कहिल्यै पनि कुनै विदेशी शासन अन्तर्गत परेन। यो कुरा आजको विश्व सन्दर्भमा निकै महत्वपूर्ण छ। पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकिकरण भएपश्चात्, नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता सुरक्षित रहन सक्यो।

नेपाल बुद्धको जन्मभूमि हो। लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले पछि बुद्धत्व प्राप्त गरी विश्वभरि शान्ति, अहिंसा र करुणाको सन्देश फैलाए। यो कुरा आज पनि नेपाललाई विश्वमञ्चमा विशिष्ट बनाउँछ।

नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। यहाँ १२२ भन्दा बढी भाषा र १०० भन्दा बढी जातजातिहरू छन्। यस्ता विविधता भए तापनि, सबै नेपालीहरू बीच आपसी सद्भाव, मेलमिलाप र एकताको भावना पाइन्छ।

नेपालका चाडपर्वहरू पनि विविध छन् – दशैं, तिहार, छठ, इन्द्रजात्रा, ल्होसर, रमजान, क्रिसमस, माघे सङ्क्रान्ति आदिले हाम्रो समाजलाई अझ रंगीन बनाउँछ। यी पर्वहरूले नेपालीहरूको एकता, श्रद्धा र आपसी सम्मान झल्काउँछन्।

नेपाल हिन्दू बाहुल्य देश भए पनि यहाँ सबै धर्मप्रति समान आदर र सहिष्णुता देखिन्छ। पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, लुम्बिनी, मस्जिदहरू, चर्चहरू, गुरुद्वाराहरू आदिले हाम्रो धार्मिक विविधता र सहिष्णुतालाई प्रकट गर्छन्। यिनै कारणले नेपाललाई “शान्तिको भूमि” पनि भनिन्छ।

नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यहरूमध्ये एक हो। सगरमाथा, अन्नपूर्ण, लाङटाङ, पोखरा, लुम्बिनी, चितवन, मुस्ताङ, इलाम, जनकपुर, भक्तपुर, ललितपुर आदिले नेपाललाई पर्यटकको आकर्षण बनाएको छ। यहाँ साहसिक पर्यटन – ट्रेकिङ, पर्वतारोहण, र्याफ्टिङ, प्याराग्लाइडिङ आदि गर्न विश्वभरिका पर्यटकहरू आकर्षित हुन्छन्।

यसबाहेक, नेपालको सांस्कृतिक सम्पदा – पुराना दरबारहरू, मन्दिरहरू, स्तूपहरू, गुम्बाहरू, जात्रा र नाचहरू नेपालका सम्पदाहरू हुन्। यिनलाई संरक्षण गर्नु हामी सबैको कर्तव्य हो।

शिक्षा र विकासको अवस्था नेपालमा विगत केही दशकमा शिक्षाको क्षेत्रमा उल्लेखनीय सुधार भएको छ। अहिले धेरैजसो बच्चाहरू विद्यालय जान पाउँछन्। उच्च शिक्षा पनि नेपालमै उपलब्ध छ। तर, अझै पनि शिक्षाको गुणस्तर र पहुँच सबैमा समान छैन। ग्रामीण क्षेत्रहरूमा अझै शिक्षाको सुविधा पुग्न बाँकी छ।

विकासका हिसाबले नेपाल एउटा विकासोन्मुख राष्ट्र हो। यातायात, स्वास्थ्य, ऊर्जा, सूचना प्रविधि आदि क्षेत्रमा प्रगति भए तापनि, बेरोजगारी, गरिबी, भ्रष्ट्राचार जस्ता समस्याहरूले विकासलाई अवरुद्ध बनाएका छन्। सरकारले दीर्घकालीन योजना बनाइ कार्यान्वयन गर्न सकेमा देशले द्रुत विकास गर्न सक्छ।

नेपालका युवाहरू सक्षम, परिश्रमी र प्रतिभाशाली छन्। उनीहरूले विज्ञान, प्रविधि, साहित्य, संगीत, खेलकुद, व्यवसाय जस्ता धेरै क्षेत्रमा सफलता हासिल गरेका छन्। विदेशमा काम गरेर रेमिट्यान्स पठाउने नेपाली युवाहरूले देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएका छन्। यद्यपि, दिगो विकासका लागि देशमै रोजगारीको अवसर सिर्जना गर्न जरुरी छ।

देशको समृद्धि युवाको सोच, योगदान र प्रतिबद्धतामा निर्भर गर्छ। यदि युवाहरूले देशप्रतिको जिम्मेवारी बुझे भने, नेपालको भविष्य उज्वल बन्न सक्छ।

म मेरो देशमाथि गर्व गर्छु। हरेक बिहान सूर्योदयको किरणले हिमाललाई रंग्याउँछ, हावा चिसो भएर मन शान्त बनाउँछ, अनि बेलीफूलको सुवासले मलाई मेरो देशको माया सम्झाउँछ। नेपाल सानो देश भए पनि यसको आत्मा विशाल छ। यहाँको मानवीयता, परम्परा र प्रकृतिसँगको सहजीवन विश्वका लागि प्रेरणा बन्न सक्छ।

मेरो देशमा अझै धेरै काम गर्न बाँकी छ। स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार जस्ता क्षेत्रमा सुधार आवश्यक छ। भ्रष्टाचार, राजनीतिक अस्थिरता र असमानता जस्ता समस्याहरू अन्त्य गर्नु अत्यावश्यक छ। यी समस्याहरू हटाउन हामी सबैले मिलेर काम गर्नुपर्छ।

“मेरो देश“ भन्ने शब्दले केवल माया मात्र होइन, जिम्मेवारी पनि जनाउँछ। हामीले आफ्नो देशलाई प्रेम गर्न, त्यसको विकासमा योगदान दिन र त्यसको गौरव बढाउन निरन्तर प्रयास गर्नुपर्छ। देशलाई केवल गुनासो गर्ने होइन, आफ्नो भूमिका निभाएर राम्रो बनाउने हो।

नेपाललाई समृद्ध, शिक्षित, विकसित र समावेशी राष्ट्र बनाउने सपना हामी सबैको साझा सपना हो। आउनुहोस्, हामी सबै मिलेर “मेरो देश, हाम्रो गौरव“ भन्ने भावना राखौं र यसलाई कार्यमा उतारौं।


प्रतिक्रिया