आईजीपी खापुङको चेतावनी: “सुरक्षा बललाई हात बाँधेर देश जोगिँदैन”

रमिला योञ्जन

काठमाडौं— नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनको आडमा भइरहेको आगजनी, तोडफोड र लुटपाटलाई ‘आतंकवादी प्रवृत्तिको अभ्यास’ भन्दै कडा चेतावनी दिएका छन्।

उनका अनुसार नागरिकको निजी सम्पत्तिमाथि आक्रमण हुने क्षणबाट नै आतंकवादको बीउ उम्रिन्छ। “जब तपाईँको घर सुरक्षित छैन, मेरो घर सुरक्षित छैन, त्यही क्षण आतंकवाद सुरु भइसकेको हुन्छ,” उनले भने।

खापुङले सामाजिक सञ्जालमार्फत दिमागमा हिंसा बोर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै देश गम्भीर दुर्घटनातर्फ उन्मुख भएको टिप्पणी गरे।

भदौ २३ र २४ का घटनापछि प्रहरीमाथि उठाइएका प्रश्नहरूको उनले कडा खण्डन गरे। “कानून कार्यान्वयन गर्न ज्यान हत्केलामा राखेर खटिएको प्रहरीलाई बयानमा उभ्याउनुपर्ने अवस्था सही होइन,” उनले भने, “विध्वंस रोकेन भने भन्ने, रोक्दा पनि दोष दिने — यस्तो द्विविधामा प्रहरी कसरी काम गरोस्?”

उनका अनुसार संसद भवन र सिंहदरबारजस्ता महत्वपूर्ण संरचना जोगाउन खटिएका बललाई कानूनले नै ‘गोली चलाउने अधिकार’ दिएको छ। तर राज्य नीतिको अस्पष्टताका कारण प्रहरी उल्टै छानबिनको चक्रमा फसायिएको उनले बताए।

पूर्व प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्रीबाट गोली आदेश नदिइएको स्पष्ट पार्दै उनले भने, “सरकारले न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको थियो। २ हजार गोली चल्यो भन्नेमा पनि मानवीय क्षति न्यूनतम राखिएको छ।”

आईजीपी खापुङले आन्दोलनकारीद्वारा प्रहरीमाथि भएको आक्रमण स्मरण गराउँदै भने, “निहत्था प्रहरीलाई घिसारेर, कुटेर मार्नेहरूलाई नायक बनाउने तर देशका लागि खटिएको प्रहरीलाई आरोपी बनाउने प्रवृत्ति कहाँको न्याय हो?”

उनले राज्य र नागरिकको सुरक्षाका लागि प्रहरी सधैं उभिएको भन्दै, जिम्मेवारी पूरा गर्ने सुरक्षाकर्मीलाई बलविहीन बनाउन खोजिँदा देश नै जोखिममा पर्ने चेतावनी दिए।

“संविधानको रक्षा गर्ने हात नै बाँधियो भने राष्ट्र सुरक्षित कसरी रहन्छ?” — खापुङले भने, “समयले मागेअनुसार स्पष्ट नीति अब राज्यले अविलम्ब ल्याउनुपर्छ।”

प्रतिक्रिया