गगन थापाको उदय: कांग्रेसको राजनीतिमा नयाँ मोड

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ। आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण केन्द्रीय कार्यसमिति सार्वजनिक गरेका हुन्।

विशेष महाधिवेशन प्रतिनिधिहरूको व्यापक मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक शक्ति संघर्षले नयाँ मोड लिएको विश्लेषण गरिएको छ।

नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन्। त्यस्तै, प्रदीप पौडेल र गुरु राज घिमिरे महामन्त्री बनेका छन्। सह–महामन्त्री पदमा भने समावेशी सिद्धान्तअनुसार विभिन्न समुदाय तथा क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

महिला सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त चयन भएकी छन्। दलिततर्फ प्रकाश रसाईली स्नेही, आदिवासी जनजातितर्फ बहादुर सिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ता कुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्ण बहादुर बुढा सह–महामन्त्री बनेका छन्।

केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन्। खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देव प्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तिर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह छन्।

महिला खुला कोटाबाट नौ केन्द्रीय सदस्य चयन भएका छन्। उनीहरूमा चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गिता सत्याल, सन्तोषी साउद ऐरी र दिल कुमारी राई छन्।

प्रदेशगत संरचनाअनुसार सातै प्रदेशबाट महिला तथा खुला कोटामा केन्द्रीय सदस्य चयन गरिएको छ। साथै, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रबाट पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

यसअघि बुधबार बसेको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले गगन थापासहित तीन नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। तर विशेष महाधिवेशनले उक्त निर्णयलाई खारेज गर्दै नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको हो।

यससँगै नेपाली कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित देखिएको छ। देउवा समूह र गगन समूहबीच पार्टीको आधिकारिकता, निर्वाचन आयोगमा दर्ता तथा संसदीय दलको नेतृत्वलाई लिएर अब कानुनी र राजनीतिक विवाद चर्किने संकेत देखिएको छ।


प्रतिक्रिया