ललितपुर — नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखा आज ३४औँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसका अवसरमा शाखा अध्यक्ष रामहरि कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार र शुभेच्छुकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष कार्कीले शाखालाई स्थापना कालदेखि हालसम्मको अवस्थामा पुर्याउन योगदान दिने अग्रज पत्रकारहरूको सम्मान गर्दै प्रजातान्त्रिक आन्दोलन र प्रेस स्वतन्त्रताको लडाइँमा सहादत प्राप्त पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। आन्दोलनका क्रममा बेपत्ता तथा घाइते भएका सञ्चारकर्मीहरूको पनि उनले स्मरण गरेका छन्।
महासङ्घले स्थापनाकालदेखि श्रमजीवी पत्रकारको हकहित, स्वतन्त्र पत्रकारिताको संस्थागत विकास, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारको पक्षमा निरन्तर भूमिका खेल्दै आएको उल्लेख गर्दै कार्कीले कठिन परिस्थितिमा पनि अग्रजहरूले देखाएको मार्गमा अडिग रहनुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार, महासङ्घ मुलुकमा सङ्घीयताको अभ्यास गर्ने पहिलो लोकतान्त्रिक संस्था भए पनि तीनै तहका सरकारले अपेक्षित ध्यान नदिँदा सञ्चार क्षेत्रले सङ्घीयताको पूर्ण अनुभूति गर्न सकेको छैन। संविधान जारी भई दुई आवधिक निर्वाचन सम्पन्न भइसके पनि मिडिया सम्बन्धी कानुन निर्माणमा ढिलाइ हुनु दुःखद रहेको उनले बताए। प्रेसमैत्री कानुन निर्माणका लागि निरन्तर खबरदारी र दबाब आवश्यक रहेको उनको जोड थियो।
कोभिड–१९ पछिको आर्थिक सङ्कटले पत्रकारिता क्षेत्र गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै उनले धेरै सञ्चारमाध्यम बन्द हुनुका साथै सञ्चारकर्मीले रोजगारी गुमाउनु परेको बताए। परम्परागत मिडियामा विज्ञापन बजार खुम्चिँदै डिजिटल प्लेटफर्मतर्फ सर्दै गएको र स्थानीय तथा प्रदेश सरकार अझै प्रेसमैत्री बन्न नसकेको उनले टिप्पणी गरे। सार्वजनिक सूचना र विज्ञापन आमसञ्चार माध्यममार्फत प्रवाह नगरी कार्यालय र सामाजिक सञ्जालमा सीमित गरिँदा सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर बनेको उनको भनाइ छ।
पत्रकारहरूले नियमित पारिश्रमिकका लागि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको भन्दै उनले श्रमजीवी पत्रकारको पेशागत अधिकार सुनिश्चित गर्न तथा सञ्चार संस्थाको सबलीकरणका लागि रणनीतिक योजना आवश्यक रहेको धारणा राखे। यी समस्या समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारको अभिभावकीय भूमिका अपरिहार्य रहेको उनले बताए।
प्रविधिको तीव्र विकासले पत्रकारितामा अवसर र चुनौती दुवै सिर्जना गरेको उल्लेख गर्दै कार्कीले समयानुकूल ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गरी इन्टरनेटको सदुपयोगमार्फत पत्रकारिताको विश्वसनीयता बढाउनुपर्नेमा जोड दिए। प्रविधिमैत्री पत्रकारिताका लागि आवश्यक वातावरण निर्माण गर्न तीनै तहका सरकारलाई उनले ध्यानाकर्षण गराए।
स्थापना दिवसका अवसरमा अध्यक्ष कार्कीले पत्रकारिता क्षेत्रको गरिमा, जिम्मेवारी र समाजको अपेक्षा पूरा गर्न सबै सरोकारवालाको सहयोग र सद्भाव आवश्यक रहेको बताएका छन्।