अर्चना झा
ललितपुर, चैत ११ — काठमाडौँ विश्वविद्यालयमा निरन्तर १९ वर्ष सेवा पूरा गरी २०औँ वर्षमा प्रवेश गर्नुभएका प्रोफेसर डा. निर्मलमणि अधिकारीले आफ्नो शैक्षिक यात्रा सफल, सन्तुष्ट र अर्थपूर्ण रहेको बताउनुभएको छ।
वि.सं. २०६३ चैत ११ मा लेक्चरर पदबाट काठमाडौँ विश्वविद्यालयमा प्रवेश गर्नुभएका उहाँ खुला प्रतिस्पर्धामार्फत क्रमशः एसिस्टेन्ट प्रोफेसर, एसोसियट प्रोफेसर हुँदै प्रोफेसर पदसम्म पुग्नुभएको हो।
उहाका अनुसार, काठमाडौँ विश्वविद्यालयको इतिहासमा मिडिया, आमसञ्चार तथा सञ्चार विधामा प्रोफेसर बन्ने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्छ। साथै, नेपालबाट सञ्चार (कम्युनिकेसन) विधामा विद्यावारिधि (पिएचडी) गर्ने पहिलो व्यक्ति तथा सञ्चार विधामै पोस्टडक्टरेट गर्ने पहिलो नेपालीसमेत उहाँ नै हुनुहुन्छ।
प्रोफेसर डा. अधिकारीले भाषा तथा आमसञ्चार विभाग प्रमुख, कार्यवाहक डिन, मिडिया स्टडिज संयोजकलगायत विभिन्न जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ।