नागरिक लगानी कोषले पारित गर्‍यो १३% लाभांश, ३१औं साधारणसभा सम्पन्न

काठमाडौं / नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट सम्बन्धी प्रस्तावमा ५% बोनस सेयर र ८% नगद लाभांश पारित गरेको छ, जसले कुल १३ प्रतिशत लाभांश सुनिश्चित गरेको छ।

सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा-नोक्सान र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिएको छ।

कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले भन्नुभयो, “कोषको कार्यक्रममा अझ धेरै स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका सर्वसाधारणहरूलाई समेट्दै नागरिक पेन्सन योजना प्रवद्र्घन गर्दै लैजाने हाम्रो योजना छ। आगामी दिनमा बचत संकलनको दायरा पनि बिस्तार गरिनेछ।”

कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागीहरूलाई प्रदान गर्दै आएको सहभागी कर्जा विस्तार गर्ने, सेयरधितो कर्जा दिने, र उपयुक्त पूर्वाधार परियोजनामा जोखिम विश्लेषण सहित लगानी बढाउने योजना रहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो।

सभामा उठाइएका जिज्ञासाहरुको जवाफ कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले दिनुभयो। उहाँले सेयरधनीहरूका सुझावहरू आगामी दिनमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले कोषले नागरिक लगानी कोष ऐन अनुसार समयमै साधारणसभा सम्पन्न गरेको उल्लेख गर्दै, “अबको युग डिजिटल भएकाले कोषले पनि डिजिटल माध्यममा काम गर्दै आएको छ।” कार्यकारी निर्देशक कार्कीले भने कि हाल अधिक तरलताको कारण मौज्दात रकमको पूर्ण परिचालन चुनौतीपूर्ण छ।

कोषले लगानी विविधीकरणका लागि नीतिगत व्यवस्था, ऐन संशोधनको प्रक्रिया, जलविद्युत आयोजना तथा उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक तयारी अघि बढाइरहेको जानकारी दिइएको छ।

प्रतिक्रिया