काठमाडौं — पत्रकार दिनेश सिटौलाको असामयिक निधन, पत्रकारिता क्षेत्र शोकमा
पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित थिए। अछाममा रहेका बेला अचानक बेहोस भई ढलेपछि उनलाई शुक्रबार उपचारका लागि काठमाडौं ल्याइएको थियो।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा चिकित्सकले आज दिउँसो १२:४५ बजे सिटौलालाई मृत घोषणा गरेका हुन्। उनकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवार स्रोतले जनाएको छ।
४३ वर्षीय सिटौला अविवाहित थिए। परिवारमा उनका पिता, एक दिदी र दुई दाजुभाइ रहेका छन्।
सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत थिए। उनले सयौं नेपाली चलचित्रहरूको प्रचार–प्रसार तथा प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेका थिए। पत्रकारिताका साथै चलचित्र क्षेत्रसँग उनको लामो समयको सक्रिय संलग्नता थियो।
हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनी टोलीसँगै अछाम पुगेका थिए। सोही क्रममा उनको स्वास्थ्य अचानक बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो।
उनको निधनसँगै पत्रकारिता र चलचित्र क्षेत्रले एक सक्रिय, कर्मठ र समर्पित व्यक्तित्व गुमाएको छ। विभिन्न सञ्चारकर्मी, कलाकार तथा राजनीतिक व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्।