'इमानदार नेतृत्वको वाचा: पर्सा–३ मा डा. कमोद ठाकुरको बहुआयामिक प्रतिबद्धता”

रमिला योञ्जन 

पर्सा — श्रम संस्कृति पार्टीको तर्फबाट पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्य (समानुपातिक) पदका उम्मेदवार डा. कमोद ठाकुरले आफ्नो चुनाव चिन्ह ‘अञ्जुलीमा रहेको माटो’ मा अत्यधिक मत दिई बहुमतका साथ विजयी गराउन मतदातासँग अपिल गरेका छन्।

स्थानीयस्तरमा आयोजित कार्यक्रममा बोल्दै डा. ठाकुरले पर्सा जिल्लाको समग्र विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले नयाँ सोच र इमानदार नेतृत्वमार्फत जिल्लाको आर्थिक न्याय, भ्रष्टाचार नियन्त्रण तथा सरकारी निकायमा सेवा सहजीकरणमा जोड दिने बताए।

उनले सार्वजनिक गरेको प्रतिबद्धतामा शिक्षा, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकतामा राख्ने उल्लेख गर्दै पर्सा जिल्लामा क्यान्सर अस्पताल स्थापना गर्ने योजना अघि सारे। साथै, नारायणी अस्पताललाई सुविधासम्पन्न बनाउँदै बढ्दो भीड व्यवस्थापन गर्ने, नारायणी रंगशालालाई आधुनिक सुविधासहित निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

डा. ठाकुरले कृषकका समस्यालाई सम्बोधन गर्दै खाद्यान्न तथा मल वितरणमा देखिएका अनियमितता नियन्त्रण गर्ने र किसानलाई राहत प्रदान गर्ने बताए। त्यस्तै, सिँचाइ सुविधा विस्तार गरी कृषि उत्पादन बढाउने योजना पनि उनले प्रस्तुत गरे।

उनले पर्सा जिल्लालाई हरियाली बनाउने दीर्घकालीन कार्यक्रम ल्याउने र जनताको प्रत्यक्ष सहभागितामार्फत विकास निर्माणका काम अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै मतदातासँग सक्रिय सहयोगको आग्रह गरे।


प्रतिक्रिया