महिला सशक्तीकरणमा रास्वपाका महिला सांसदहरूको प्रतिबद्धता


अर्चना झा 

ललितपुर , २ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले आ–आफ्नो क्षेत्रमा महिला सशक्तीकरण, स्वास्थ्य, सामाजिक न्याय र क्षेत्रीय विकास लाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

रास्वपाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि चैत ३ र ४ गते ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका क्रममा सर्लाही क्षेत्र नम्बर १ की माननीय नीतिमा कार्की ले महिलाहरूका लागि शारीरिक स्वास्थ्य परीक्षणसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने बताउनुभयो । उहाँले गाउँ–गाउँमा सरसफाइ अभियान सञ्चालन गर्दै होमस्टे प्रवर्द्धनमार्फत स्थानीय प्राकृतिक सौन्दर्य र कृषिलाई पर्यटकीय विकाससँग जोड्ने योजना पनि सुनाउनुभयो।


महोत्तरी क्षेत्र नम्बर ४ की माननीय गौरी यादव ले निर्वाचनका क्रममा जनतासमक्ष राखिएका एजेन्डाहरूलाई पहिलो प्राथमिकतामा राखेर पूरा गर्ने र पार्टीको नीति तथा निर्देशनअनुसार अघि बढ्ने बताउनुभयो ।

त्यसैगरी सप्तरी क्षेत्र नम्बर २ की माननीय डा. अंकिता ठाकुर ले आफ्नो क्षेत्रमा स्वास्थ्य सेवा विस्तार, सम्बन्धित कार्यालयहरूको प्रभावकारी व्यवस्थापन र लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै महिलाको आवाज र भूमिकालाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित माननीय भूमिका श्रेष्ठ ले तेस्रो लिङ्गी समुदायका लागि नागरिकता, सामाजिक न्याय, शिक्षा र स्वास्थ्यका क्षेत्रमा स्थानीय तहदेखि सङ्घीय तहसम्म प्रभावकारी रूपमा आवाज उठाउने बताउनुभयो ।


रास्वपाका महिला सांसदहरूले महिला अधिकार, समावेशिता र स्थानीय विकासलाई केन्द्रमा राख्दै जनअपेक्षाअनुसार परिणाममुखी काम गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया