काठमाडौं — प्रहरी सहायक हवल्दार सुशीला श्रेष्ठको जीवन ड्युटीकै क्रममा आएको एक दुर्घटनाले पूर्ण रूपमा बदलिदिएको छ। करिब डेढ वर्षअघि ड्युटीमा रहँदै गर्दा एक मदिरा सेवन गरेका चालकले चलाएको गाडीको ठक्करबाट उनी गम्भीर घाइते भइन्। टाउको, हात र खुट्टामा गहिरो चोट लागेपछि सुशीला करिब एक महिना अस्पतालमा उपचाररत रहिन्। ज्यान त जोगियो, तर शरीरभरि जीवनभर नमेटिने घाउ र उपचारका लागि लागेको १० लाख रुपैयाँ ऋणको भारी बोझ अझै पनि उनको काँधमा छ।
उपचारमा करिब १३ लाख रुपैयाँ खर्च भएको बताइन्छ। तर दुर्घटना गराउने चालक ९ महिना थुनामा बसेर मुक्त भइसकेका छन्। सुशीलाको जीवन भने अझै शारीरिक पीडा र मानसिक आघातबाट मुक्त हुन सकेको छैन। सामान्य दैनिक कामसमेत कठिन बनेको छ भने आर्थिक संकटले थप तनाव थपेको छ।
ड्युटीमै रहँदा आफ्ना कर्मचारीले भोगेको पीडामा संगठनले आवश्यक मल्हम लगाउनुपर्ने आवाज उठ्न थालेको छ। पीडित पक्षको भनाइमा, दुर्घटना गराउनेबाट क्षतिपूर्ति दिलाउने पहल हुनुपर्ने र यदि त्यो सम्भव नभए प्रहरी कल्याणकारी कोषमार्फत भए पनि तल्लो तहका कर्मचारीको पीडा कम गर्ने जिम्मेवारी संगठनको हो।
सुशीलाको घटनाले ड्युटीमा खटिने सुरक्षाकर्मीहरूको सुरक्षा, उपचार र क्षतिपूर्तिको सवालमा गम्भीर प्रश्न उठाएको छ। उनीजस्तै जोखिमपूर्ण जिम्मेवारी निभाउने कर्मचारीहरूको हकहित सुनिश्चित गर्न स्पष्ट नीति र छिटो कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ।
“आशा र विश्वास छ, संगठनले उचित कदम चालेर मेरो पीडामा मल्हम लगाउनेछ,” सुशीला भन्छिन्।
समाजका लागि कर्तव्य निभाउँदा घाइते भएकी सुशीलाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, उनको न्याय र क्षतिपूर्तिका लागि पहल हुने अपेक्षा गरिएको छ।