छौरा’ शब्दको अपमानपछि मधेश आक्रोशित, नस्लीय सोच विरुद्ध बहिष्कार चर्कियो

अर्चना झा 

ललितपुर, ८ पुष : नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका पुर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको अभिव्यक्तिलाई व्यङ्ग्य गर्दै ‘कुकुरको छाउरा’ भन्ने टिप्पणी गरेपछि मधेशमा तीव्र आलोचना सुरु भएको छ।

उक्त अभिव्यक्तिलाई मैथिली भाषा, संस्कृति र मधेशी पहिचानमाथिको गम्भीर अपमानका रूपमा व्याख्या गर्दै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म विरोध चर्किएको हो।

विवादको सुरुवात पुर्व मेयर बालेन शाहले मधेशी समुदायका सन्दर्भमा प्रयोग गरेको मैथिली भाषाको शब्द ‘छौरा’ बाट भएको हो। मैथिली भाषामा ‘छौरा’ वा ‘छौड़ा’ शब्दको अर्थ ‘छोरा’, ‘पुत्र’, ‘केटा’ वा ‘बाबु’ हुने गर्छ, जुन मायाले सम्बोधनका रूपमा व्यापक रूपमा प्रयोग गरिन्छ। तर नेता महेश बस्नेतले सो शब्दलाई ‘कुकुरको छाउरा’ सँग तुलना गर्दै आलोचना गरे पछि मधेशी समुदाय आक्रोशित बनेको हो।

सामाजिक सञ्जालमा होस वा गाउँ, सहरमा मधेशी अधिकारकर्मी, बुद्धिजीवी र सर्वसाधारण नागरिकहरूले उक्त टिप्पणीलाई भाषिक अज्ञानता मात्र नभई पहाडीयाहरूको नस्लीय सोच र सांस्कृतिक अहंकारको उपज भन्दै कडा प्रतिक्रिया जनाएका छन्। उनीहरूले बारम्बार मधेशी भाषा, संस्कृति र पहिचानलाई हेप्ने प्रवृत्ति सह्य नहुने स्पष्ट चेतावनी दिएका छन्।

यसैक्रममा मधेशमा र पहाडमा बसोबास गर्ने मधेशी समुदायले एमालेविरुद्ध बहिष्कार अभियान सुरु गरेको घोषणा गरेका छन्। 

विभिन्न स्थानमा नारा–जुलुस निकालिएको छ भने सामाजिक सञ्जालमा #BoycottUML, #RespectMaithili, #MadheshPride, #NoVoteForHaters जस्ता ह्यासट्यागसहित एमालेका उम्मेदवारलाई मतदान नगर्ने, चुनावी अभियान बहिष्कार गर्ने र सामाजिक दूरी कायम गर्ने आह्वान गरिएको छ। कतिपयले ‘भोटको चोट’ मार्फत एमालेको जमानत जफत गराउनुपर्ने मागसमेत अघि सारेका छन्।

यता, नेकपा एमाले भित्र रहेका मधेशी नेता र कार्यकर्ता अनुहारहरूको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ। पद र कुर्सीका लागि मातृभाषा र आत्मसम्मानमाथि भएको अपमान सहनु अस्वीकार्य हुने भन्दै उनीहरूलाई मौनता तोडेर स्पष्ट धारणा सार्वजनिक गर्न दबाब बढ्दै गएको छ।

महेश बस्नेतको अभिव्यक्तिबाट सुरु भएको यो विवादले चुनावी माहोललाई थप तातो बनाएको छ। भाषिक सम्मान, सांस्कृतिक पहिचान र राजनीतिक जिम्मेवारीको विषयलाई केन्द्रमा राखेर उठेको बहसले मधेशको राजनीतिमा एमालेका लागि गम्भीर चुनौती थपिएको विश्लेषण हुन थालेको छ।

प्रतिक्रिया