राजनीतिक धैर्यको फल: नरेन्द्र केरुङको संसदीय यात्रा सुरु

रमिला योञ्जन 

पाँचथर जिल्लाको राजनीतिक इतिहासमा नेपाली काँग्रेसका लागि जितभन्दा हारका अनुभव बढी छन्। बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि भएका अधिकांश निर्वाचनमा काँग्रेसले अपेक्षित सफलता पाउन सकेको थिएन। तर यसपटक भने पाँचथरका काँग्रेसीहरूका लागि खुसीको खबर आएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा नरेन्द्र कुमार केरुङ विजयी भएपछि लामो समयदेखि निराश रहेको पाँचथर काँग्रेस वृत्तमा उत्साहको नयाँ लहर फैलिएको छ।

पाँचथरमा काँग्रेसले बहुदलपछि थोरै मात्र ऐतिहासिक जित दर्ता गर्न सकेको छ। वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनमा वसन्तकुमार नेम्बाङलाई पराजित गर्दै दीपक प्रकाश बाँस्कोटाले पाँचथर क्षेत्र नं. १ बाट जित हासिल गरेका थिए। त्यसबेला बाँस्कोटा अर्थराज्यमन्त्री समेत बनेका थिए। त्यसपछि वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा पूर्णकुमार शेर्माले नेकपा एमालेका गणेश काम्बाङलाई मात्र सात मतको झिनो अन्तरले पराजित गर्दै विजय हासिल गरेका थिए। त्यसपछि शेर्मा स्थानीय विकास मन्त्री बनेका थिए।

संविधानसभा विघटनपछि वि.सं. २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा भीष्मराज आङदेम्बेले एमालेका डम्बरसिंह सम्बाहाम्फेलाई पराजित गर्दै काँग्रेसका लागि अर्को जित सुनिश्चित गरेका थिए। पञ्चायतपछिका निर्वाचनमा काँग्रेसले पाँचथरमा दर्ता गर्न सकेको जीतको इतिहास यहीसम्म सीमित रह्यो।

संघीय संविधान जारी भएपछि भएका दुवै निर्वाचनमा भने काँग्रेसले हार व्यहोर्नुपर्‍यो। तर यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नरेन्द्र कुमार केरुङ विजयी बनेसँगै पाँचथर काँग्रेसले पुनः उत्साह पाएको छ।

भर्खरै सम्पन्न काँग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित केरुङले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचथरबाट जीत हात पारेका हुन्। देशव्यापी परिणाममा काँग्रेस अपेक्षाभन्दा कमजोर देखिए पनि पाँचथरमा केरुङको विजयले पार्टीका कार्यकर्तामा उत्साह थपेको छ।

केरुङले निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा (ब्रबिम)लाई दुई हजार ४९९ मत अन्तरले पछि पार्दै विजय हासिल गरेका हुन्। केरुङले १७ हजार २३३ मत प्राप्त गर्दा शेर्माले १४ हजार ७३४ मत पाए। चुनावअघि बलियो प्रतिस्पर्धीका रूपमा हेरिएका नेकपा एमालेका अइन्द्र सुन्दर नेम्बाङ र हर्कबहादुर नेम्बाङ (मिक्सो)ले क्रमशः १४ हजार ५३४ र ११ हजार ४४३ मत प्राप्त गर्दै तेस्रो र चौथो स्थानमा सीमित भए।

केरुङका लागि यो विजय तेस्रो प्रयासपछि सम्भव भएको हो। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा त्यतिबेलाका एमाले नेता गणेश कुमार काम्बाङसँग पराजित भएका उनी २०७४ को प्रदेशसभा निर्वाचनमा पनि काम्बाङसँगै हार व्यहोर्न बाध्य भएका थिए। तर तेस्रो प्रयासमा भने उनले संसदीय यात्राको ढोका खोल्न सफल भएका छन्।

करीब तीन दशकभन्दा लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय केरुङ जिल्लामा शालीन, अध्ययनशील र बौद्धिक नेताका रूपमा चिनिन्छन्। उनले २०४८ सालमा विद्यार्थी जीवनमै नेपाल विद्यार्थी संघको जिल्ला सचिव भएर सक्रिय राजनीति सुरु गरेका थिए। त्यसपछि शिक्षक संगठन, प्राध्यापक संगठन र ट्रेड युनियन काँग्रेसमार्फत पार्टी संगठन सुदृढ बनाउन भूमिका खेले। दुई कार्यकाल नेपाली काँग्रेस पाँचथरको जिल्ला सभापति भएर काम गरिसकेका केरुङ हाल विशेष महाधिवेशनमार्फत् पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्।

शैक्षिक रूपमा व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका केरुङले पाँचथर बहुमुखी क्याम्पसमा १२ वर्ष प्राध्यापन पनि गरेका थिए। शिक्षा र संगठन दुवै क्षेत्रमा अनुभव संगालेका केरुङलाई जिल्लामा विचारशील नेताको रूपमा लिने गरिन्छ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि दुई वर्ष अगावै प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो। देशभर काँग्रेस कमजोर परिणामतर्फ धकेलिँदै गएको अवस्थामा पाँचथरमा केरुङको जीतले पार्टीको साख जोगाउने काम गरेको विश्लेषण गरिएको छ।

चुनौतिपूर्ण राजनीतिक परिस्थितिमा निर्वाचित भएका केरुङले संसदमा अर्थपूर्ण प्रतिनिधित्व गर्ने र पाँचथरको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले सबै पक्षलाई समेटेर अघि बढ्ने अठोट पनि व्यक्त गरेका छन्।

आइतबार सदरमुकाम फिदिममा आयोजित विजय र्‍यालीपछि आयोजित कार्यक्रममा उनले आफूलाई अमूल्य मत दिएर विजयी गराउने सम्पूर्ण पाँचथरे मतदाताप्रति आभार व्यक्त गरेका थिए।

प्रतिक्रिया