रमिला योञ्जन
काठमाडौं, श्रावण २२ गते
नेपालको सांस्कृतिक विविधता र सहिष्णुताको अनुपम उदाहरणका रूपमा चिनिने काठमाडौंको बौद्ध क्षेत्रमा यसवर्ष गाईजात्रा तथा रोपाईजात्रा (स्थानीय तामाङ भाषामा 'घोनाई जात्रा') भव्य रूपमा मनाइँदैछ। ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यस पर्वलाई संरक्षण तथा प्रवर्द्धन गर्न श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा ‘गाईजात्रा तथा रोपाईजात्रा (घोनाई जात्रा) मूल समारोह समिति २०८२’ गठन गरिएको छ।
संस्कृतिको शिरमौर घोनाई जात्रा
तामाङ समुदायले विशेष रूपमा मनाउने यो पर्व जनैपूर्णिमाबाट प्रारम्भ भई गाईजात्रा हुँदै रोपाईजात्रामा समापन हुन्छ। जनैपूर्णिमाको दिनलाई ‘पोना रोपाई’ भनिन्छ भने गाईजात्रालाई नेवारी भाषामा ‘सापार’ भनिन्छ। असारको रोपाइँ कार्य समाप्त भएपछि किसानहरू फुर्सदिला भई, रोपार, बाउसे, हली आदिको भेषमा अभिनय गर्दै मनोरञ्जनसहित रोपाई जात्रा मनाउने चलन रहिआएको छ।
यस पर्वलाई राजा प्रताप मल्लले पुत्रशोकमा रानी अनन्तप्रियालाई सान्त्वना दिन शुरु गराएको भन्ने जनश्रुति रहिआएको छ। त्यसपछि यो पर्व परिष्कृत हुँदै विविधता र गम्भीरता प्राप्त गर्दै आएको संस्कृतिविद्हरू बताउँछन्।
कार्यक्रमको रुपरेखा
घोनाई जात्रा अन्तर्गत विभिन्न रोचक प्रस्तुतिहरूको आयोजना गरिएको छ, जसमा हलगोरु, युवा तथा बाल बाउसे-रोपार, हास्य-व्यङ्ग्य, लाखे, झाँकी, घोडा नाच, विद्यालयीय प्रस्तुति आदि समावेश छन्।
मुख्य कार्यक्रमहरू यसप्रकार छन्:
श्रावण २५ गते ३:३० बजे – घिनतिङ नाका कार्यक्रम
श्रावण २६ गते १२:००–२:०० – सांस्कृतिक कार्यक्रम
श्रावण २६ गते २:३० बजे – रोपाइँ जात्राको र्याली प्रारम्भ
श्रावण २६ गते ५:०० बजे – औपचारिक कार्यक्रम तथा पुरस्कार वितरण
र्याली रुट:
बौद्ध पीपलबोट मुख्य सडक → बौद्ध स्तूप परिक्रमा → बौद्ध फूलबारी → बौद्ध गेट → टुसाल चोक → बौद्ध गेट हुँदै पुनः स्तूप परिक्रमा
पुरस्कार र प्रतिस्पर्धा
जात्रामा सहभागी विविध विधाहरूमा उत्कृष्टता देखाउने टोली र व्यक्तिहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रत्येक विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ। घोनाई मौलिक नाचमा भने प्रथम पुरस्कार प्रदान गरिनेछ। पुरस्कार राशी १०,००० देखि २,५०० सम्म छ।
समितिको सक्रिय संयोजन
कार्यक्रमलाई सफल बनाउन १३ वटा उपसमिति गठन गरिएको छ जसमा निर्णायक मण्डल, प्रचार प्रसार, स्वयंसेवक परिचालन, नाच व्यवस्थापन, सुरक्षा तथा ट्राफिक व्यवस्थापन, र्याली संयोजन आदि समावेश छन्। काठमाडौं महानगरपालिका वडा नं. ६ को विशेष सहयोगले जात्रालाई व्यवस्थित, मर्यादित र भव्य बनाउने प्रयास गरिएको छ।
समिति संयोजक जयमंगल लामाका अनुसार, “घोनाई जात्रा हाम्रो मौलिक कला र संस्कृतिक पहिचान हो। यसलाई संरक्षण गर्न हामी सबैको सहकार्य आवश्यक छ।”शोक, स्मृति, हास्य र मनोरञ्जनको अद्भुत समिश्रण बोकेको गाईजात्रा तथा रोपाईजात्रा केवल एक जात्रामा सीमित नभई सांस्कृतिक चेतना, सामाजिक एकता र मौलिकता संरक्षणको प्रतीक हो। यस्तो जात्राले नेपाली समाजलाई जातीय र सांस्कृतिक विविधताको सुन्दर नमूनाका रूपमा प्रस्तुत गर्दै आएको छ।
"हाम्रो मौलिक कला र सांस्कृतिक हाम्रो पहिचान"
गाईजात्रा तथा रोपाईजात्रा (घोनाई) मूल समारोह समिति २०८२,
कामपा-६, बौद्ध