दक्षिण ललितपुरको विकास, सम्भावना र स्थानीय समस्यामाथि खुला बहस गर्ने उद्देश्यसहित ‘गफगाफ दक्षिण ललितपुरको’ कार्यक्रम आइतबार महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा सम्पन्न भएको छ।
पिपुल्स फर्स्ट पार्टीका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता सनोज महतको समन्वयमा आयोजित कार्यक्रममा पत्रकार, नागरिक समाज र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा बोल्दै महतले दक्षिण ललितपुर अपार सम्भावना बोकेको भूगोल भए पनि योजनाबद्ध विकासको अभावले पछाडि परेको बताए। कृषि र पर्यटनलाई विकासको मेरुदण्ड बनाउन सकिने भन्दै उनले सुरक्षित बस्ती विकास र व्यवस्थित शहरीकरणको आवश्यकता औंल्याए।
दक्षिण ललितपुरमा वार्षिक करिब ४ अर्ब रुपैयाँ बजेट खर्च हुँदाहुँदै पनि अपेक्षित उपलब्धि नदेखिएकोमा उनले चिन्ता व्यक्त गरे।
पत्रकारहरूले जनसंख्या र मतदाता सूचीको असन्तुलन, बाहिरी राजनीतिक हस्तक्षेप, बसाइँसराइ, बागमती नदीको प्रदूषण तथा जनप्रतिनिधिको गैरजिम्मेवारीप्रति आलोचना गरे।
कार्यक्रममा दक्षिण ललितपुरलाई समस्याको क्षेत्र होइन, सम्भावनायुक्त भूगोलका रूपमा पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिइयो।
पत्रकार रमिला योञ्जनले बहसलाई निष्कर्षतर्फ डोर्याउँदै प्रश्न उठाइन्—
“समस्या त पहिचान भयो, अब समाधान कहिले ?”