स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अफताव आलम भेन्टिलेटरमा
31 Oct 2025
रमिला योञ्जन
काठमाडौं — नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ। दुबै मिर्गौला फेल भएपछि उनलाई कृत्रिम स्वासप्रश्वास दिएर भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले जनाएको छ।
तिहारअघि देखि आईसीयूमा रहेका आलमको स्वास्थ्यमा अहिलेसम्म सुधार नदेखिएको बताइएको छ। केही महिना अघि मात्र उनलाई कारागारबाट छुटेपछि मस्तिष्कघात (स्ट्रोक) भएको थियो। माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएका आलमलाई फेरि मिर्गौलाको समस्या देखिएपछि दसैंअघि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा भर्ना गरिएको थियो।
तर पछिल्ला दिनमा उनको स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि चिकित्सकले उनलाई भेन्टिलेटरमा राख्नुपरेको जनाइएको छ। अस्पताल स्रोतका अनुसार हाल उनलाई निरन्तर कृत्रिम स्वासप्रश्वास दिइँदै उपचार जारी रहेको छ।
नेता आलमको स्वास्थ्यबारे पार्टीका नेता तथा कार्यकर्ताले गम्भीर चासो व्यक्त गरेका छन्। कांग्रेस स्रोतका अनुसार पार्टी नेतृत्वले पनि उनको स्वास्थ्य अवस्थाबारे निरन्तर जानकारी लिइरहेको छ।