ललितपुर — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बुधबारदेखि जारी बैठकमा बिहीबार उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादवले आ–आफ्नो धारणा राखेका थिए। त्यसैगरी कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले पनि बैठकमा विचार प्रस्तुत गरेका थिए।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले आगामी १६ दिनभित्र क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताए। उनले क्रियाशील सदस्यता टुंग्याएर वडा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका थिए।
महामन्त्री शर्माले पार्टीको संस्थागत निर्णय सबैले मान्नुपर्ने उल्लेख गर्दै आवश्यक परे महाधिवेशनको मितिमा केही दिन हेरफेर हुनसक्ने संकेत पनि गरे।