गुल्मी–२ मा रास्वपाबाट पूर्व डीएसपी गोविन्द पन्थी चुनावी दौडमा

गुल्मी – २ को निर्वाचन क्षेत्रमा पूर्व डीएसपी गोविन्द पन्थी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाल प्रहरीमा लामो समय सेवा गरेका पन्थी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार बनेका हुन्।

प्रहरी सेवामा रहँदा समाजका तल्लो तहदेखि माथिल्लो तहसम्म देखिएका विसंगति र बेथितिलाई नजिकबाट अनुभव गरेको उल्लेख गर्दै पन्थीले बाहिरबाट गुनासो गर्नुभन्दा प्रणालीभित्रै प्रवेश गरेर सुधार गर्नुपर्ने निष्कर्षका साथ राजनीतिमा आएको बताएका छन्।

उनले सरकारी अड्डामा हुने ढिलासुस्ती, प्रशासनिक जटिलता र नीतिगत अव्यवस्थाको अन्त्य गर्दै जनतालाई छिटो, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने अठोट व्यक्त गरेका छन्। प्रहरी संगठनभित्र रहँदा नीतिगत भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपका कारण चाहेर पनि अपेक्षित सुधार गर्न नसकिएको अनुभवले आफूलाई सक्रिय राजनीतिमा आउन प्रेरित गरेको उनको भनाइ छ।

गुल्मी–२ मा यसअघि स्थापित राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुँदै आएको अवस्थामा पूर्व सुरक्षा अधिकारी पन्थीको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ। उनले सुशासन, जवाफदेहिता र सेवा प्रवाह सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

निर्वाचन क्षेत्रका मतदातामाझ पुगेर घरदैलो कार्यक्रमलाई तीव्रता दिएका पन्थीले “सिस्टम सुधारका लागि नीति निर्माण तहमा पुग्नैपर्छ” भन्ने सन्देश दिँदै मत मागिरहेका छन्

प्रतिक्रिया