रमिला योञ्जन
काठमाडौँ, मंसिर ६
सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेको छ। महाअभियानले अघि सारेका २७ बुँदे मागहरूबारे विस्तृत छलफल भएको र धेरै बुँदामा सहमति बनेको जनाइएको छ।
वार्तामा वर्तमान शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै नागरिक बचाउ महाअभियानले राखेका जायज मुदाहरू समाधान गर्न सरकार निरन्तर छलफल, वार्ता र सहजीकरणमा जाने सहमति भएको सचिव प्रेमदीप लिम्बूले बताए।
यसैबीच, महाअभियानले मंसिर ७ गते घोषणा गरिएको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्ताल फिर्ता लिँदै शान्तिपूर्ण तरिकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। अबका चरणहरूमा पनि वार्ता महाअभियानकै नेतृत्वमा यथास्थितिमा अघि बढाइने उल्लेख गरिएको छ।
महाअभियानका सचिव प्रेमदीप लिम्बू र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयराज खनालले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन्।