रूपन्देही, साउन 21
रूपन्देही जिल्ला अदालतले ’कर्तव्य ज्यान’ अभियोगमा पक्राउ परेका प्रतिवादी के.बी. कार्की भन्ने कुल बहादुर कार्कीलाई १ लाख २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
२०६१ साल फागुन १९ गते बुटवल नगरपालिका–१३ स्थित एकान्त स्थानमा दुई वटा जुटको बोरामा प्याक गरिएको अवस्थामा दुई जनाको मृत शरीर फेला परेको थियो। शव परीक्षणमा दुवै शव पूरै कुहिएको (मभअयmउयकभम) देखिएको र मुख, घाँटी, पेटमा नीलडाम र औँसाले खाएको जस्तो देखिएको उल्लेख गरिएको छ।
घटनाको पृष्ठभूमि
वर्षौं पुरानो यो घटनामा हरिकुमार तामाङको जाहेरीका आधारमा नेपाल सरकार विरुद्ध मुद्दा दायर गरिएको थियो। जाहेरी अनुसार, के.बी. कार्की र रमेश रसाइलीले जाहेरवालाका बाबुलाई कर्तव्य गरी मारेको आरोप लागेको थियो। उक्त घटनामा मृतकहरू माईती तामाङ र दिलबहादुर तामाङ रहेका छन्।
प्रतिवादीको बयान
प्रतिवादी कार्कीले बयानमा आफूमाथि लागेको सम्पूर्ण आरोप अस्वीकार गरेका छन्। उनले घटनाबारे मिति २०६१ साल चैत २० गते मात्र जानकारी पाएको र मृतकहरूसँग कुनै सम्बन्ध नभएको दाबी गरेका छन्। उनले आफनो अफिस “सत्यवती ओभरसिज कन्सर्न प्रा.लि.” मार्फत वैदेशिक रोजगारीको काम गर्ने गरेको र मृतकहरू उक्त संस्थामा कार्यरत नरहेको बताएका छन्।
अदालतको निर्णय
जिल्ला अदालत रूपन्देहीका माननीय न्यायाधीश ईधर पराजुलीको इजलासले प्रस्तुत प्रमाण, बयान, शव परीक्षण रिपोर्ट लगायतको आधारमा प्रतिवादी कार्कीमाथि अहिलेको अवस्थामा प्रत्यक्ष संलग्नता पुष्टि हुने आधार देखिएन भन्ने ठहर गर्दै उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
तर अदालतले अनुसन्धान प्रक्रिया अझै जारी रहेको भन्दै, प्रमाण संकलनको क्रममा दोष पुष्टि भएमा कानुन अनुसार कारवाही अगाडि बढाइने स्पष्ट पारेको छ।
धरौटी र थुनछेक आदेश
अदालतले कार्कीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम रु. १,२५,००० नगद् वा बैंक ग्यारेन्टी बुझाई तारेखमा राख्न आदेश दिएको छ। मागबमोजिमको धरौटी बुझाउन नसकेमा दफा ८० अनुसार थुनुवा पूर्जी दिई जिल्ला कारागार रूपन्देही पठाउने आदेश गरिएको छ।
यो घटनाले विगतमा घटेका रहस्यमय हत्याका घटनाहरू अझै न्यायिक प्रक्रिया र प्रमाण संकलनमा कसरी चुनौतीपूर्ण छन् भन्ने देखाउँछ। अदालतको आदेशले निष्पक्ष छानबिनलाई निरन्तरता दिँदै सत्य पत्ता लगाउन अझै समय लाग्ने स्पष्ट संकेत गरेको छ।