रमिला योञ्जन
काठमाडौं – राष्ट्रिय जनमुक्ति पार्टीका नेता रमेश रसाईलीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। उनी २०६१ सालमा रूपन्देहीस्थित एक होटलमा दुई दम्पतीको हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका थिए।
प्रहरी अनुसन्धान अनुसार रसाईलीले वैदेशिक रोजगारीको नाममा विभिन्न व्यक्तिबाट १० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेका थिए। सो ठगी प्रकरणको प्रमाण नष्ट गर्नका लागि दुई दम्पतीको हत्या गरिएको तथ्य पनि अनुसन्धानमा पुष्टि भएको छ।
उक्त ठगी सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पीडितको पक्षमा फैसला सुनाएको थियो। तर रसाईली फैसला कार्यान्वयन हुनु अघि नै फरार भएका थिए।
गत असार २३ गते गोरखापत्र दैनिकमा उनको पक्राउ पुर्जीसम्बन्धी सूचना प्रकाशित गरिएको थियो। लामो समयको खोजीपछि प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।
30 Aug 2025