महिला आयोगको अध्यक्ष कमला पराजुली जेन–जी आन्दोलनपछि बेपत्ता, भ्रष्टाचारको आरोप

काठमाडौं।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीमाथि भ्रष्टाचार, अनियमितता र पदको दुरुपयोगको आरोप लाग्दै आएको छ। आयोगको  गरिमा माथि प्रश्न उठ्नेगरी उनी विगतदेखि विवादमा छिन्।

जेन–जी आन्दोलनपछि बेपत्ता

जेन–जी आन्दोलनपछि आयोगमा परिस्थिति चर्किँदै जाँदा अध्यक्ष कमला पराजुलीको गतिविधि थप प्रश्नवाचक बनेको छ। कार्यालयलाई कुनै जानकारी नै नदिई उनी असोज ५ गतेदेखि बेपत्ता भइन्। पछिल्लो जानकारीअनुसार, पराजुली आफ्नो नैतिकतामाथि प्रश्न उठ्ने गरी भागौडा शैलीमा अस्ट्रेलिया पुगेकी छिन्।

जग्गा प्राप्ति र अनियमितता

अध्यक्ष पराजुलीले संकल्प नेपाल नामक संस्था दर्ता गरी  जेष्ठ नागरिक भवन बनाउने नाममा सरकारबाट २० रोपनी जग्गा प्राप्त गरेकी थिइन्।  जेष्ठ नगरिक भवन भने कागजमै बनाइयो, वास्तवमा जग्गामा निर्माण भएको छैन। महालेखा परीक्षकले रकम फिर्ता गर्न निर्देशन दिएका छन्। उच्च अदालत पाटनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यस विषयमा कारबाही अघि बढाउन निर्देशन दिइसकेको छ।

तर अख्तियारले संविधानको धारा १०१ अनुसार पदावधि सकिएपछि मात्र महाअभियोग प्रक्रियामार्फत कारबाही अघि बढाउन सकिने स्पष्ट पारेको छ।

आयोगभित्र असन्तुष्टि र कर्मचारीको भनाइ

आयोगका कर्मचारीहरूले अध्यक्ष पराजुली जेन–जी आन्दोलनदेखि नै अफिसमा काम नगरी कराउने र रुने व्यवहार गरेको, कर्मचारीलाई दुःख दिएको र मनपरी आदेश दिएको बताएका छन्।

आयोगका आन्तरिक स्रोतका अनुसार, अध्यक्ष आफैंले अनुकुल नहुँदा सचिवमार्फत आदेश दिनु, चेन अफ कमान्ड तोडेर काम गराउन लगाउनु, र पछि कर्मचारीमाथि दोष लगाउन लगाउने प्रवृत्ति देखाएको छ।

आयोगका सदस्यहरूको प्रतिक्रिया

आयोगका माननीय सदस्यहरूले भने घटनाबारे आफूहरूलाई जानकारी नै नभएको दाबी गरेका छन्। उनीहरूले भने, “हामीलाई नै जानकारी नभएको कुराको समाचार कसरी र के नियतका साथ आयो? कतिपय समाचारहरू भ्रामक, कपोकल्पित र कुप्रचारपूर्ण छन्।”

जसरी भनिन्छ, “मर्नेबेलाको बक्ति धिपधिप गर्छ,” भ्रष्टाचारको चाङमा फसेका व्यक्तिले आफ्नो गल्ती लुकाउन मिडियाको दुरुपयोग गर्ने प्रवृत्ति विगतमा पनि देखिएको छ। आयोगमा भएको विवादले यस संवैधानिक निकायको विश्वसनीयता माथि प्रश्न उठाएको छ।

महिला आयोग विवादको अबको चरण संसद् र अख्तियारतर्फ केन्द्रित हुने देखिन्छ। आम नागरिकको ध्यान अब आयोगको नेतृत्व र कारबाही प्रक्रियामा के हुने भन्नेमा केन्द्रीत भएको छ।

प्रतिक्रिया