नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशद्वारा जेन–जी सहिदहरूलाई दीप प्रज्वलनमार्फत श्रद्धाञ्जली

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले जेन–जी आन्दोलनका क्रममा सहिद भएका युवाहरूको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यसमिति बैठकको निर्णयअनुसार कार्यक्रम आयोजना गरिएको प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले जनाएका छन् । जेन–जी पुस्ताको भावना सम्बोधन गर्नु र शहीदहरूको सपना पूरा गर्नु अहिलेको ऐतिहासिक आवश्यकता भएको भन्दै अध्यक्ष रोकाले देशलाई भ्रष्टाचार र बेथितिबाट मुक्त गरी अग्रगामी परिवर्तनतर्फ अघि बढ्न सबैलाई आह्वान गरे।


श्रद्धाञ्जली कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, उपत्यकाबाट केन्द्रीय सदस्यद्वय सूर्य सुवेदी र अर्जुन पन्त लगायतको उपस्थिति थियो।


त्यस्तै प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी र सचिव सुरेन्द्र चालिसे, लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस काउन्सिलका सदस्य सन्तराम बिडारी, उपत्यका प्रदेश अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुर शाखाका अध्यक्षहरू लगायत न्यायप्रेमी पत्रकारहरूको सहभागिता रहेको थियो।


गत भदौ २३ गते, जेन–जी पुस्ताका युवाहरूले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र दमनकारी शासनविरुद्ध माइतीघरदेखि देशभर व्यापक प्रदर्शन चर्काएका थिए। राज्यद्वारा गरिएको दमनका कारण सोही दिन  १९ जना युवाले ज्यान गुमाएका थिए। त्यसको भोलिपल्ट सुरु भएको विद्रोहले सत्ता नै पल्टाइदिएको छ भने अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ।


कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले दीप प्रज्वलनलाई केवल शोकका रूपमा नभई आशाको रूपमा समेत अर्थ्याएका छन् । उनीहरूको भनाइमा, “यी दीपहरू केवल शहीदका आत्माहरूलाई सम्झनाका लागि होइनन्, बरु नयाँ नेपालको बाटो उज्यालो पार्ने प्रणका लागि पनि प्रज्वलित भएका हुन्।”

आन्दोलनको बलमा बनेको वर्तमान अन्तरिम सरकारले आज राष्ट्रिय शोक दिवस समेत घोषणा गरी सार्वजनिक बिदा दिएको थियो । माइतीघरमा परिवर्तन पक्षधरले विभिन्न ब्यानरमा शोक सभा आयोजना गरेका थिए ।


प्रतिक्रिया