विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै

अर्चना झा रासस

ललितपुर,२७ पुष : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानलो स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

नेपालको पहिलो स्पेस सिस्टम्स प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ। उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेशनबाट गरिनेछ।

मुनाल उपग्रह आइ एस आर ओ को एस एल भि - सिक्स टू पनि रकेटमार्फत ‘राइडशेयर पेलोड’ का रूपमा २०२६ जनवरी १२ गते बिहान १०:१७ बजे (भारतीय समय) अर्थात् नेपाल समयअनुसार १०:३२ बजे प्रक्षेपण हुनेछ।


यो प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिनेछ। उपग्रहलाई करिब ८०० किलोमिटर उचाइको लो अर्थ अर्बिट मा स्थापित गरिने योजना छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा. रविन्द्र प्रसाद ढकालले मुनाल परियोजनाले युवालाई वैज्ञानिक अनुसन्धानतर्फ आकर्षित गरेको बताउँदै भन्नुभयो, “यो उपग्रह केवल प्रविधिगत उपलब्धि मात्र होइन, नेपाली युवालाई अन्तरिक्ष विज्ञानमा नेतृत्वदायी भूमिकातर्फ अघि बढाउने प्रेरणादायी उदाहरण हो। यसले भविष्यमा राष्ट्रिय अन्तरिक्ष इकोसिस्टम निर्माणका लागि बलियो आधार तयार गरेको छ।”


नेपाल र भारतबीचको अन्तरिक्ष सहकार्य अन्तर्गत सम्पन्न हुन लागेको यो प्रक्षेपणले नेपालको वैज्ञानिक क्षमता र अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया