महिला आयोगकी अध्यक्ष कमला पराजुलीलाई जेन्जी आन्दोलनको २४ घण्टे अल्टिमेटम

रमिला योञ्जन

काठमाडौं —

जेन्जी आन्दोलनका प्रतिनिधिहरूले राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीलाई २४ घण्टाभित्र पदबाट राजिनामा दिन अल्टिमेटम दिएका छन्।

जेन्जी आन्दोलनका सह–संयोजक कमल सुवे, प्रतिनिधि श्याम अधिक, डा. जगत विश्वकर्मा र सरजु सिग्देलले आयोगमा सोमबार दर्ता गराइएको पत्रमार्फत अध्यक्ष पराजुलीमाथि भ्रष्टाचार र पद दुरुपयोगको गम्भीर आरोप लगाउँदै तत्काल राजीनामा माग गरेका हुन्।

पत्रमा भनिएको छ, अध्यक्ष पराजुलीले संकल्प नेपाल नामक सामाजिक संस्थाको अध्यक्ष हुँदा तत्कालीन सरकारबाट इन्द्रायणी गाविस–८ कि.नं. १८८ स्थित २० रोपनी जग्गा प्राप्त गरी “संकल्प जेष्ठ नागरिक ग्राम” नामक परियोजना अघि बढाएकी थिइन्। सो परियोजनाका लागि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट छ करोड दश लाख रुपैयाँ (रु ६,०१,००,०००) विनियोजन गरिएको थियो। तर सम्झौता अनुसारका भवन, डोर्मेटरी र भित्री सडक निर्माण कार्य अपुरो रहे पनि कागजी रुपमा सम्पन्न देखाई बजेट हिनामिना गरिएको उल्लेख छ।

उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भइसकेको र मुद्दा अझै विचाराधीन रहेको पत्रमा जनाइएको छ। सो सम्बन्धमा उच्च अदालत पाटनले मिति २०७९ भदौ १ गते निर्देशनात्मक आदेश समेत जारी गरेको उल्लेख गरिएको छ।

जेन्जी आन्दोलनका नेताहरूले आरोप लगाएका छन्,

“भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेकी व्यक्ति महिला आयोग जस्तो संवैधानिक संस्थाको अध्यक्ष पदमा रहन योग्य छैनन्। तत्कालीन प्रधानमन्त्री र शक्तिशाली समूहको दबाबमा गरिएको यो नियुक्ति असंवैधानिक छ।”

उनीहरूले आयोगका सचिव र कर्मचारीसँग मिलेर आयोगका नीति कार्यक्रम विपरीत गतिविधि सञ्चालन गरी नितिगत भ्रष्टाचारमा संलग्न भएको पनि आरोप लगाएका छन्।

पत्रमा भनिएको छ,

“२४ घण्टाभित्र राजिनामा नदिए आन्दोलनमार्फतै कारबाही गरिनेछ।”

पत्रमा जेन्जी आन्दोलनका सह–संयोजक कमल सुवे, प्रतिनिधि श्याम अधिक, डा. जगत विश्वकर्मा, सरजु सिग्देल, प्रदीप भट्ट (UEN Revolution N), जेन्जी आन्दोलनका घाइते इश्वर र प्रतिनिधि किए लगायतको हस्ताक्षर रहेको छ।




प्रतिक्रिया