रमिला याेन्जन
मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजना गरिएको थियो।
नयाँ शैक्षिक वर्षको आरम्भसँगै विद्यार्थीहरूलाई कलेजको शैक्षिक ढाँचा, आचारसंहिता, नियम तथा सेवाहरूको विस्तृत जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा, हालै सम्पन्न बोर्ड परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका कक्षा १२ का टप टेन विद्यार्थीहरूलाई विशेष सम्मान समेत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले विद्यार्थीहरूलाई आत्मनिर्भर, जिम्मेवार र समाजपरिवर्तनका अग्रदूत बन्न प्रेरणा दिएका थिए। उनले भने, “घडीका तीनवटा सुईहरू—घण्टा, मिनेट र सेकेन्ड—जसरी आ-आफ्नो काममा समर्पित हुन्छन्, त्यसैगरी विद्यार्थीहरूले पनि परिवार, समाज र देशप्रति आफ्नो दायित्व बुझेर सक्रिय भूमिका खेल्नुपर्छ।”
कार्यक्रममा कलेजका कार्यकारी अध्यक्ष गेन्द्र लामाले सबै संकायका विद्यार्थीहरूलाई एउटै मञ्चमा समेट्दै समयको सदुपयोग र आपसी समन्वय अभिवृद्धि गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
त्यसैगरी क्याम्पस प्रमुख राजन श्रेष्ठले कलेजले आत्मनिर्भर विद्यार्थी उत्पादन गर्ने लक्ष्यसहित 'Team Work Makes Dream Work' र 'Competition With Ourself' भन्ने मूल्यमा आधारित शैक्षिक संस्कृति अघि बढाइरहेको बताए।
कार्यक्रममा प्राइम टिभीका अध्यक्ष ऋषि धमलासहित शिक्षकमण्डल, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको सांगीतिक पक्षमा लोकप्रिय गायिका रचना दाहालको प्रस्तुति विशेष आकर्षणको केन्द्र बन्यो। साथै, कक्षा १२ का विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत र अन्य सांस्कृतिक कार्यक्रमहरूले माहोललाई झनै जीवन्त बनाएको थियो।
संस्कृति, शिक्षा र जानकारीको संयोजनमा आधारित यस कार्यक्रमले कक्षा ११ का विद्यार्थीहरूका लागि प्रेरणादायी शैक्षिक यात्राको सुरुवात गराएको आयोजक पक्षले जनाएको छ।