रमिला योञ्जन
रुपन्देही — जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चालु आर्थिक वर्ष २०८१र०८२ मा भन्सार छली तथा अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको छ। प्रहरीले भारत–नेपाल सीमाबाट तस्करी हुँदै ल्याइएका १२ करोड ६७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गर्नुका साथै ११३ जना तस्करलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० प्रदीप बहादुर क्षेत्रीका अनुसार, प्रहरीको विशेष टोलीले सीमा क्षेत्रमा निगरानी बढाउँदै भारतबाट चोरी निकासी हुँदै ल्याइएका सामानहरू बरामद गरेको हो। तिनमा किराना, कपडा, इलेक्ट्रोनिक उपकरणदेखि पशुपंक्षीसम्मका वस्तु समावेश छन्।
“तस्करीको शृङ्खला तोड्न हामीले समन्वित कारबाही अगाडि बढाएका थियौँ,” एसपी क्षेत्रीले बताए। “यसले सीमा सुरक्षामात्र नभई राष्ट्रिय राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।”
प्रहरीका अनुसार, कारबाहीको क्रममा तस्करीमा प्रयोग भएका ३३१ वटा सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ। तीमध्ये ३०२ वटा मोटरसाइकल, १७ पिकअप, ८ ट्रक, ३ अटो र १ ट्याक्टर छन्। बरामद सामग्री र सवारी साधनहरू भैरहवा भन्सार कार्यालय बेलहिया, पशु क्वारेन्टाइन चेकपोस्ट र राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।
अपराध नियन्त्रणमा समेत रुपन्देही प्रहरीले सक्रियता देखाएको छ। चालु वर्षमा १७०७ वटा मुद्दा दर्ता हुँदा ११४५ वटा फस्र्यौट भइसकेका छन्। बाँकी ५६२ मुद्दा अनुसन्धानको प्रक्रियामा छन्।
त्यसैगरी, अदालतबाट सजाय पाएका ८२३ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी ५०६ वर्ष २ महिना १२ दिन कैदको सजाय कार्यान्वयन गर्न कारागार पठाएको छ। साथै ७ करोड ४५ लाख रुपैयाँभन्दा बढी जरिवाना असुलका लागि अदालतमा बुझाइएको छ।
लागुऔषध नियन्त्रणमा पनि प्रहरीले तीव्र उपस्थिति जनाएको छ। यो अवधिमा २२२ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्। उनीहरूसँग ११३ किलोभन्दा बढी गाँजा, ७३२ ग्राम ब्राउन सुगर, र २० किलो चरेस बरामद गरिएको छ।
स्थानीयहरूका अनुसार, एसपी क्षेत्री नेतृत्वमा आएपछि प्रहरीले सीमा क्षेत्रमा आक्रामक रणनीति अख्तियार गरेको छ। परिणामतः तस्करी तथा आपराधिक गतिविधिमा कमी आएको र कानुनी शासन सुदृढ बन्दै गएको उनीहरूको भनाइ छ।